Rule 9
श्रम स्वीकृतिको लागि निवेदन दिनु पर्ने
(१) कुनै विदेशी नागरिकले नेपालमा काम गर्न चाहेमा ऐनको दफा २३ को उपदफा (१) बमोजिम श्रम स्वीकृतिको लागि अनुसूची-३ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा निवेदनसाथ देहायका विवरण कागजात संलग्न गर्नु पर्नेछः-
(क)   राहदानी (कम्तीमा छ महिना म्याद भएको) को प्रमाणित प्रतिलिपि,
(ख)    सम्बन्धित कामको लागि शैक्षिक योग्यता, सीप वा ज्ञान वा दक्षताको प्रमाणपत्र आवश्यक पर्ने भए सोको प्रमाणित प्रतिलिपि,
(ग)    रोजगारदाताले निवेदकलार्इ रोजगारी दिने स्वीकारोक्ति पत्र,
(घ)    नेपाल सरकार, गृह मन्त्रालयको कार्य सहमति आवश्यक पर्ने भए त्यस्तो कार्य सहमतिपत्रको प्रतिलिपि।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकले श्रम स्वीकृतिको लागि निवेदन दिँदा आफ्नो देशमा रहेको नेपाली राजदूतावास वा कूटनीतिक नियोग वा सो मुलुक समेत हेर्ने जिम्मेवारी भएको अन्य मुलुकमा रहेको नेपाली राजदूतावास वा कूटनीतिक नियोग मार्फत दिन सक्नेछ।
(४) उपनियम (१) बमोजिम कसैको निवेदन परेमा सम्बन्धित राजदूतावास वा कूटनीतिक नियोगले सात दिनभित्र त्यस्तो निवेदन विभागमा पठाइदिनु पर्नेछ।
(५) उपनियम (१) वा (३) बमोजिम निवेदन परेमा विभागले निवेदनसाथ प्राप्त विवरण कागजातको आधारमा आवश्यक जाँचबुझ गर्नेछ । त्यसरी जाँचबुझ गर्दा निवेदकको योग्यता र उपयुक्तता यकिन गर्न निवेदकको अन्तर्वार्ता लिन वा सीप परीक्षण गर्न सक्नेछ।
(६) उपनियम (१) वा (३) बमोजिम निवेदकले श्रम स्वीकृति माग गरेको काम वा सेवाको सम्बन्धमा नेपाली जनशक्ति पर्याप्त भएमा श्रम स्वीकृति दिइने छैन।
(७) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा श्रम स्वीकृति दिन मनासिब देखेमा विभागले नियम १० को उपनियम (१) बमोजिमको दस्तुर लिर्इ निवेदन परेको तीस दिनभित्र निवेदकलार्इ अनुसूची…४ बमोजिमको ढाँचामा श्रम स्वीकृति दिनु पर्नेछ।
(८) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा निवेदकलार्इ श्रम स्वीकृति दिन नमिल्ने देखिएमा विभागले सोको जानकारी सात दिनभित्र निवेदकलार्इ दिनु पर्नेछ।